सामाजिक सञ्जाल फेसबुकले सर्वसाधारणका लागि सेयर जारी गरेको धेरै भैसक्यो । उक्त अवसरमा फेसबुकले क्यालिफोर्नियामा रोड शोको समेत आयोजना गर्यो । उक्त रोड शोमा सबै व्यक्ति टाइ सुटमा सजिएका थिए । तर स्वयं फेसबुकका संस्थापक मार्क जकरबर्ग भने सधै जस्तै सामान्य पोशाकमा देखिए । उनले आफ्नो ड्रेसको ट्रेड मार्क बनाएका जम्पर वा हुडी लगाएका थिए । रोड शोमा देखिएको यो पहिरन पछि यसको वारेमा निकै नै चर्चा परिचर्चा भयो ।
हुन त जकरबर्गले यस्तो पहिरन सधै नै गर्थे । तर आफ्नै औपचारिक कार्यक्रममा यसरी गैर जिम्मेवार हुनु हुदैनथ्यो । यसले गर्दा भविष्यका सम्भावित लगानीकर्ताहरुमा नराम्रो सन्देश प्रवाह हुन्छ भन्ने धेरैको धारणा रहेको थियो । तर स्वयं जकरबर्गका पक्षधरहरुले भने यो प्रकरणलाई सामान्य रुपमा लिएका थिए । उनि यही पोशाकमा आफुलाई सहज अनुभव गर्छन् । त्यसैले यसलाई स्वाभाविक रुपमा लिनु पर्ने उनिहरुको तर्क थियो । फेसबुकको सेयरले धेरै उचाइ लिएन । तर जकरबर्गको पहिरन चर्चाले भने सधै उचाई नै लिइरहेको पाइन्छ ।
हुन पनि अमेरिका जस्तो फेसन कन्सियस मुलुकमा जन्मिएका जकरबर्ग टाइ सुटमा सजिएको कमै देखिन्छ । अमेरिकामा टाइ सुटलाई नै औपचारिक पोशाक मानिन्छ । तर पहिरनमा सहजता हुनु पर्छ भन्ने उनको मान्यता छ । हुडी नै उनलाई सहज लाग्छ । उनी यो वाहेक टिसर्ट समेत लगाउने गर्छन् । फेसनको मामलामा एप्पलका संस्थापक स्टिभ जब्सको पनि यस्तै धारणा थियो । स्टिभ जब्सले पनि सार्वजनिक समारोहमा जहिले पनि घाटी सम्म ढाकिएको कालो रंगको फुल टिसर्ट ‘टर्टलनेक’ र ब्लु जिन्स पाइन्ट लगाउथे ।
स्टिभ जब्सले आफ्नो बायोग्राफी लेखक वाल्टर इज्याक्सनसँग भनेका थिए, ‘मसँग यस्ता धेरै टर्टलनेक छन् । मैले प्रत्येक दिन फेरेर लगाउदा पनि जिन्दगी भर पुग्ने संख्यामा छन् ।’ यसको अर्थ स्टिभ जब्सको ‘टर्टलनेक’ प्रति अति नै मोह रहेको दर्शाउछ । त्यसैले उनले सधै नै त्यही पहिरनमा आफुलाई प्रस्तुत गरे । स्टिभ जब्स नै मार्क जकरबर्गका ‘एक्जिक्युटिभ आइडल’ मानिन्छन् । त्यसैले जब्सले जस्तै जकरबर्गले पनि फेसनमा आफ्नो छुट्टै पहिचान बनाउन खोजेका हुन सक्छन् भन्ने कतिपयको मान्यता छ ।
जकरबर्गले पहिरिने हुडीको प्रचलन अमेरिकाबाटै प्रारम्भ भएको हो । सन् ७० को दशकको मध्यतिर न्युयोर्कका सडकहरुमा हिप–हप संस्कृतिको निकै नै विकास भैरहेको थियो । चलिरहेको फेसन भन्दा अलिकति फरक देखिन चाहनेहरुले यो अवस्थामा हुडीको प्रयोग गर्न निकै नै रुचाए । त्यो समयमा विशेषत: भित्ते चित्र कोर्ने ग्राफिटी कलाकारदेखि लिएर लुटेरा र अलि हठी बालबालिकाले समेत यसको प्रयोग गर्न थाले ।
त्यतिखेर हुडी लगाउनु भनेको अलिकति तल्लो स्तरको व्यक्तिको पहिचान हुन्थ्यो र यसको अर्थ उनिहरु अलि कानुन विपरितका कार्य गर्न अग्रसर हुन्छन् भन्ने मान्यता रहन्थ्यो । त्यसपछि स्केटर र स्नोबोर्डरदेखि लिएर पंक म्युजिकका पारखीहरुले समेत यसको प्रयोग गर्न थाले । त्यो समयमा नर्मा कमाली र अन्य प्रसिद्ध डिजाइनरहरुले यसको प्रसिद्धिलाई बढाउन निकै नै भूमिका खेलेका थिए । खासगरी त्यो समयमा प्रसिद्ध भएको फिल्म ‘रकी’ मा यसको प्रयोग भए पछि यसले झनै लोकप्रियता पायो ।
सन् ९० को दशक प्रारम्भसँगै हिप–हप संस्कृतिले प्रसिद्धि कमाउदै गयो । त्यसपछि टमी हिलफिगर, जर्जियो अर्मानी र राल्फ लाउरेनदेखि गुची र भर्सासे जस्ता प्रसिद्ध फेसन डिजाइनरको ध्यान समेत हुडीतिर मोडियो । उनिहरुले हुडेड टीसर्ट डिजाइन गर्न थाले । त्यसपछि यसको प्रयोग पनि बढ्दै गयो । यसको प्रयोग गर्न रुचाउनेहरु प्रतिको गलत धारणा पनि समाप्त हुदै गयो ।
अमेरिकाको पश्चिमी भाग, अझ क्यालिफोर्नियामा यसको निकै नै प्रचलन हुन थाल्यो । शैक्षिक संस्थाहरुले समेत युनिभर्सिटीको लोगो सहितका हुडी प्रयोग गर्न थाले । यस्ता हुडी विशेष गरी अतिरिक्त कृयाकलापको समयमा अनौपचारिक पोशाकका रुपमा प्रयोग गरिन्छ । अहिले यो अमेरिकामा जिन्स जस्तै फेसनको रुपमा विकास भएको छ । अमेरिकी युवाहरुमा हुडीप्रति निकै मोह छ । यसैको प्रतिनिधिका रुपमा मार्क जकरबर्गले समेत भूमिका खेलेका छन् ।
No comments:
Post a Comment