बन्जाडे पुराना व्यापारी हुन्। उनीसँग बालबालिका एवं महिलाका लागि आवश्यक स्वास्थ्य सामग्री बेचेको वर्षौंदेखिको अनुभव छ। कन्डमको हकमा भने यस्ता अनुभवि व्यक्तिको अनुमान पनि गलत सावित भयो। उनले पठाएका कन्डम धमाधम बिक्री हुन थाले। कतिसम्म भने ६ महिनापछि नै उनको बजार प्रवर्द्धकले थप कन्डम पठाइदिन आग्रह गरे। 'पहिले त कन्डम कसले किन्यो भनेर म छक्क परेंँ, पछि रहस्य बुझ्दै गएँ।' बन्जाडेले साप्ताहिकसँग भने, 'कन्डम बिक्री हुनुको प्रमुख कारण नै लोग्नेहरू विदेश जानुरहेछ। घरमा लोग्ने नभएकै कारण अरू लोग्ने मानिसलाई धेरैभन्दा धेरै कन्डमको आवश्यकता पर्दै गयो। कन्डमबिना परस्त्रीसँग सम्पर्क गर्न कठीन हुने भएकैले ती कन्डम बिक्री भए।'
झट्ट सुन्दा बन्जाडेको वक्तव्य नेपाली समाजको रीति एवं नीति विरोधी लाग्न सक्छ, तर यो उनले भोगेको तथा देखेको सत्य हो। बन्जाडे अहिले पनि पश्चिम नेपालमा यौनसँग सम्बन्धित सामग्रीको व्यापारमा संलग्न छन्। उनको अनुभवमा पश्चिम नेपालमा प्रत्येक वर्ष कन्डमको खपत बढेको बढ्यै छ। गएको वर्ष उनले बुटवलभन्दा पश्चिममा १ लाखभन्दा बढी कन्डम बेचे। गएको पाँच वर्षको अनुभवमा उनी ढुक्कका साथ भन्छन्, 'प्रत्येक वर्ष लोग्नेमानिस तथा स्वास्नीमानिसहरू विदेश गएका गयै छन्, यस्तो अवस्थामा कन्डमको बिक्री घट्नु पथ्र्यो, तर यो बढेको बढै छ।
कन्डमको बिक्री बढेको निष्कर्ष बन्जाडे एक्लोको होइन। केही समय अघि स्वास्थ्य मन्त्रालयसँग मिलेर एउटा गैरसरकारी संस्थाले गरेको देशव्यापी सर्वेक्षणले पनि नेपालमा गर्भ निरोधक अस्थायी साधनको प्रयोग बढेको निष्कर्ष निकालेको थियो। उक्त सर्वेक्षणले के देखाएको छ भने श्रीमान्-श्रीमती नभए पनि महिला-पुरुषहरू अन्य व्यक्तिसँग संसर्ग गर्न थालेका छन्। त्यसैले पनि उनीहरू गर्भ नरहोस् भन्ने उद्देश्यले अस्थायी साधन प्रयोग गरिरहेका छन्। यस्ता अस्थायी साधनमा कन्डम, पिल्स, तीन महिने सुई एवं गर्भपतन गराउने औषधिहरू छन्।
माग उच्च भएकै कारण अमेरिकी नियोग एवं सरकारी सहयोगमा सञ्चालित सीआरएस कम्पनीका ढाल र प्यान्थरजस्ता ब्रान्डका कन्डम सर्वसुलभ भए पनि निजी कम्पनीहरूले अन्य ब्रान्डका लाखौं कन्डम नेपाल भित्र्याइरहेका छन्। निजी कम्पनीका कन्डममध्ये सबैभन्दा बढी बिक्री हुने ब्रान्डमा जापानी कन्डम स्किलेस, कोरियन कन्डम युनिडस, भारतीय कन्डम कोब्रा, ब्ल्याक कोब्रा र यस्तै नाम भएका अन्य विभिन्न कन्डम छन्। गैरसरकारी संस्थाका रूपमा दर्ता भएको मेरी स्टोप्सले नेपाल भित्राउने जोडी, फायर तथा एक्टेन्सी ब्रान्डका कन्डम, चीनबाट कच्चापदार्थ ल्याएर भारतमा उत्पादन हुने तृष्णा ब्रान्डका ५ थरिका कन्डम पनि नेपाली बजारमा बढी बिक्री हुने कन्डम मानिन्छन्।
No comments:
Post a Comment