Friday, July 5, 2013

जंगली छावालाई घरेलु ढोईको माया

जंगली छावा (दायाँ) र आफ्नो छावासँगै दूध चुसाउँदै चितवनकली। तस्बिर : नागरिकजंगली छावा (दायाँ) र आफ्नो छावासँगै दूध चुसाउँदै चितवनकली। तस्बिर : नागरिक
चितवन - अलपत्र बच्चालाई मान्छेले मात्र होइन, वन्यजन्तुले पनि उत्तिकै माया गर्दो रहेछ। चितवन राष्ट्रिय निकुञ्ज सौराहाको हात्तीसारमा अचेल रमाइलो दृश्य देखिन्छ। उद्धार गरेर ल्याइएको जंगली हात्तीको बच्चा (छावा)लाई घरेलु हात्तीले दूध चुसाउँछ। अन्य पोथी हात्ती सुँढले छावा सुमसुम्याउन तँछाडमछाड गर्छन्।
रौतहट वागमती किनारमा अलपत्र जंगली छावालाई पर्सा वन्यजन्तु आरक्षका अधिकारीले सौराहा ल्याएका हुन्। असार १७ गते दिउँसो त्यहाँ ल्याइएको छावाले असार १४ गते राति बच्चा जन्माएकी चितवनकलीको दूध चुस्न पाएको छ।
'सुरुमा यो छावा नजिक जान हिच्किचाउँथ्यो। अहिले त दूध चुसेको चुस्यै गरेर माउलाई हैरान बनाउन थालेको छ,' हात्तीसारका प्रमुख विचित्रकुमार चौधरीले भने। चितवनकलीले जन्माएको छावा पोथी हो। जंगली छावा भाले हो। जंगली छावा २० दिनअघि जन्मिएको हात्तीसारका कर्मचारीको अनुमान छ।
छावाले करिब एक वर्षसम्म आमाको दूध मात्र खान्छ। त्यसपछि बल्ल घाँस खान थाल्छ। 'दूध चुस्न पाएन भने छावा धेरै दिन बाँच्न सक्दैन,' केन्द्रका प्रमुख चौधरीले भने। भर्खर बच्चा जन्माएकी चितवनकलीको दूध चुस्न पाएको छावाले अरु पोथी हात्तीको पनि उत्तिकै माया पाएको छ। पोथी हात्ती ऐश्वर्यमाला छावा खेलाउन मरिहत्ते गर्छ।
'चितवनकलीसहित यहाँ ६ वटा पोथी हात्ती (ढोई) छन्। सुत्केरी चितवनकलीलाई त बच्चा मनपर्ने नै भयो। अरु पोथी पनि उत्तिकै हुरुक्क हुन्छन्। ऐश्वर्यामाला त झन् बच्चा खेलाउन सुत्केरीभन्दा पनि बढी मरिहत्ते गर्छे,' चौधरीले भने। दूध र माया पाएकाले जंगली छावा हृष्टपुष्ट हुँदै आएको छ।
पटक–पटक दूध चुसेर हैरान गरेपछि छावालाई बाँधेर राख्नुपरेको छ। दुई छावाले दूध चुस्ने भएकाले हात्तीलाई पौष्टिक पदार्थ थप्न हात्तीसारका कर्मचारीलाई भ्याइनभ्याई छ। हात्तीले जुम्ल्याहा बच्चा प्रायः जन्माउँदैन। खोरसोरमा रहेको हात्ती प्रजनन् केन्द्रमा पाँच वर्षअघि एउटा ढोईले जुम्ल्याहा जन्माएको थियो। एउटा जन्माए पनि चितवनकलीलाई दुई बच्चा हुर्काउने जिम्मेवारी थपिएको छ।
'आफ्नो समूह र आमाबाट बिछोडिनु दुर्भाग्य हो। तर, यहाँ भर्खर बच्चा जन्माएको ढोई भएकाले उसलाई हुर्कन सहज हुने भयो,' चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भने। हात्ती समूहमा मिलेर बस्ने प्राणी हो। फरक समूहका ठूला भाले हात्ती एक अर्कामा घुलमिल हुन सक्दैनन्। तर, पोथी हात्तीमा यस्तो समस्या हुँदैन।

No comments:

Post a Comment